दफा १३
पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्ने आधार
(१) पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्दा विश्व व्यापार सङ्गठनको भन्सार महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता (जनरल एग्रिमेन्ट अन टेरिफ्स एण्ड ट्रेड) १९९४ को धारा ७ कार्यान्वयन गर्नको लागि सम्पन्न भएको सम्झौतामा उल्लिखित भन्सार मूल्याङ्कन सम्बन्धी नियमहरु, अनुसूची र व्याख्या अवलम्बन गरिनेछ ।

(२) पैठारी गरिने मालवस्तुको भन्सार मूल्य उपदफा (१) को अधीनमा रही त्यस्तो मालवस्तुको कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ ।

(३) पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तुको मूल्य प्रमाणित गर्ने विवरण तथा कागजात संलग्न गरी कारोबार मूल्य घोषणा गर्नु पर्नेछ ।

(४) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको कारोबार मूल्य उपदफा (१) अनुरुपको भएमा भन्सार अधिकृतले त्यस्तो कारोबार मूल्यको आधारमा मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ । त्यस्तो कारोबार मूल्यमा भाडा, बीमा तथा अन्य सम्वद्ध खर्च समावेश भएको नदेखिएमा भन्सार अधिकृतले सोका लागि लाग्न सक्ने अनुमानित रकम जोडी कारोबार मूल्य निर्धारण गर्नेछ ।

(५) उपदफा (४) बमोजिमको अनुमानित रकम कायम गर्ने आधार महानिर्देशकले तोक्न सक्नेछ ।

(६) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको मूल्य शङ्कास्पद छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएमा भन्सार अधिकृतले निजसँग त्यस्तो मूल्य वास्तविक कारोबार मूल्य हो भनी प्रमाणित गर्ने थप कागजात वा प्रमाण लिखित रुपमा माग गर्न सक्नेछ । त्यसरी माग भएका कागजात उपलब्ध गराउने जिम्मेवारी त्यस्तो पैठारीकर्ताको हुनेछ ।

(७) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको कारोबार मूल्य वा पेश गरेको बील, बीजक र कागजातका आधारमा कुनै मालवस्तुको भन्सार मूल्य निर्धारण हुन नसकेमा त्यसको कारण सहितको सूचना भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई दिनु पर्नेछ ।

(८) उपदफा (२) बमोजिम कारोबार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य त्यस्तो मालवस्तु पैठारी हुनुभन्दा पहिले नेपालमा पैठारी भइसकेको समरुपको मालवस्तु (आइडेण्टिकल गुड्स) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “समरुपका मालवस्तु (आइडेण्टिकल गुड्स)” भन्नाले बनौट, गुण, प्रकृति र विशेषता लगायत सम्पूर्ण कुरा एकै किसिमको भएको मालवस्तु सम्झनु पर्छ ।

(९) उपदफा (८) बमोजिम समरुपको मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य नेपालमा पहिले पैठारी भएको मिल्दोजुल्दो मालवस्तु (सिमिलर गुड्स) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “मिल्दोजुल्दो मालवस्तु (सिमिलर गुड्स)” भन्नाले सबै कुरामा उस्तै नभएका तर उस्तै बनौट सामग्रीको अंश र उस्तै उस्तै विशेषता भएको कारणले गर्दा उस्तै काम गर्न सक्ने र व्यापारिक रुपमा साटफेर हुन सक्ने मालवस्तु सम्झनु पर्छ ।

(१०) उपदफा (९) बमोजिम मिल्दोजुल्दो मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु अघि नै नेपालमा पैठारी भई बजारमा पैठारीकर्तासँग असम्बन्धित व्यक्तिलाई बिक्री भएको रहेछ भने त्यसरी बिक्री भएको अधिकतम इकाइको प्रति इकाई बिक्री मूल्यमा नेपालमा लागेको कर, महसुल, अन्य सम्वद्ध खर्च र मुनाफा कटाई (डिडक्टिभ भ्यालु मेथड अनुसार) त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गरिनेछ ।

(११) उपदफा (१०) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु उत्पादन वा निर्माण गर्न लागेको खर्च र सो मालवस्तु पैठारीकर्तालाई बिक्री गर्दा विक्रेताले लिएको वा लिन सक्ने मुनाफा समेत गणना गरी (कम्प्युटेड भ्यालु मेथड अनुसार) भन्सार मूल्य निर्धारण गरिनेछ ।

(१२) उपदफा (११) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा भन्सार अधिकृतले उपदफा (२), (८), (९), (१०) र (११) बिपरीत नहुने गरी मनासिब आधारमा त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ ।

(१३) उपदफा (१०) र (११) मा जुनसुकै कुरा लेखिएको भए तापनि पैठारीकर्ताले उपदफा (१०)भन्दा पहिले उपदफा (११) को प्रक्रिया अवलम्बन गरी भन्सार मूल्य निर्धारण गरिदिनका लागि अनुरोध गरेमा भन्सार अधिकृतले उपदफा (११) बमोजिम भन्सार मूल्य निर्धारण गर्न सक्नेछ ।

(१४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्तिगत प्रयोजनको लागि यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना अन्तर्गत पैठारी भएको मालवस्तु वा बिदेशी मुलुकबाट उपहार वा नमूना स्वरूप प्राप्त गरी पैठारी भएको मालवस्तु वा राहत सामग्रीको कारोबार मूल्य खुलाउन नसक्ने कारण जनाई त्यस्तो मालवस्तुको धनीले मूल्याङ्कन गरिदिन निवेदन दिएमा र त्यस्तो व्यहोरा भन्सार अधिकृतलाई उपयुक्त लागेमा वा मूल्य नखुलेको अवस्थामा पेश हुन आएमा निजले त्यस्तो मालवस्तुको अनुमानित भन्सार मूल्य निर्धारण गर्न सक्नेछ ।

(१५) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको मूल्य यस दफा बमोजिम भन्सार अधिकृतले निर्धारण गरेको भन्सार मूल्यभन्दा घटी भएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुका सम्बन्धमा देहाय बमोजिम गर्न सक्नेछ:-

(क) त्यसरी घटी भएको जति मूल्यमा भन्सार महसुल लाग्ने मालवस्तु भएमा पचास प्रतिशत थप भन्सार महसुल, भन्सार महसुल नलाग्ने भई कृषि सुधार शुल्क वा अन्तःशुल्क मात्र लाग्ने मालवस्तुको हकमा पचास प्रतिशत थप कृषि सुधार शुल्क वा अन्तःशुल्क असुल गरी त्यस्तो मालवस्तु जाँचपास गर्ने, वा

(ख) ............ त्यसरी घोषित मूल्यमा पाँच प्रतिशत रकम थप गर्दा हुन आउने रकम पैठारीकर्तालाई भुक्तानी दिने गरी त्यस्तो मालवस्तु खरीद गर्ने गराउने ।

(१६) यस दफा बमोजिम मालवस्तुको भन्सार मूल्य कायम गर्दा सामान्यतः विदेशी मुद्रामा गरिनेछ । पैठारीको अवस्थामा महसुल बुझाउनुपर्ने मालवस्तुको मूल्याङ्कन विदेशी मुद्रामा भएकोमा सोको नेपाली रुपैयाँमा परिवर्तन गर्दा ०त्यस्तो मालवस्तुको प्रज्ञापनपत्र भन्सार कार्यालयमा दर्ता भएको वा कम्प्यूटर प्रणालीमार्फत भन्सार कार्यालयमा प्राप भएको दिन नेपाल राष्ट्र बैङ्बबाट तोकिएको विदेशी मुद्राको बिक्रीदरको आधारमा गरिनेछ । नेपाल राष्ट्र बैङ्कबाट विनिमय दर नतोकिएको विदेशी मुद्राको हकमा सो विदेशी मुद्रालाई अमेरिकी डलरमा परिवर्तन गर्दा हुने अमेरिकी डलरको बिक्री दरको आधारमा गरिनेछ ।

तर कूटनीतिक सुविधा, महसुल सुविधा वा पूर्ण वा आंशिक महसुल छुटमा पहिले पैठारी भई पछि महसुल बुझाउने मालवस्तुको भन्सार मूल्यलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा बाँकी महसुल बुझाउने दिनमा नेपाल राष्ट्र बैङ्बबाट तोकिएको विदेशी मुद्राको बिक्री दरको आधारमा गरिनेछ ।

(१७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम भन्सार अधिकृतले भन्सार मूल्य निर्धारण गर्दा यस दफामा उल्लेख भएको विधि वा प्रक्रिया अनुकूल नभएमा वा मूल्य शङ्कास्पद छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएमा त्यस्तो मालवस्तुको यस दफा बमोजिम पुनः मूल्य निर्धारण गर्न महानिर्देशकले आदेश दिन सक्नेछ ।

(१८) उपदफा (१७) बमोजिम आदेश प्राप्त भएमा भन्सार अधिकृतले आवश्यक जाँचबुझ गरी तीस दिनभित्र पुनः भन्सार मूल्य निर्धारण गरी महानिर्देशकलाई जानकारी दिनु पर्नेछ ।

(१९) उपदफा (१७) बमोजिम आदेश दिँदा महानिर्देशकले त्यस्तो मालवस्तु जाँचपास भएको मितिले नब्बे दिनभित्र दिनु पर्नेछ ।

(२०) कुनै पैठारीकर्ताले अधिक बिजकीकरण गरी मालवस्तु पैठारी गरेको भन्सार अधिकृतलाई लागेमा निजले प्रचलित संघीय कानून बमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।